images

सेयर बजारको कारोबार २७ महिना यताकै उच्च

काठमाडौं–मंगलबार उच्च अंकले बढेको सेयर बजारमा बुधबार १२ अंकको करेक्सन आएको छ । कारोबार रकम भने २७ महिना यताकै उच्च भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा बिक्रिचाप बढ्दा नेप्से परिसूचक घटेको हो । सुरुवाती समयमा बढेर २२ सय १५ बिन्दुमा पुगेको नेप्से सूचक बजार बन्द हुनेबेला १२ दशमलव १० अंकले घटेर २१ सय ६३ विन्दुमा अडिएको हो ।

नेप्से घेटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ७६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यो कारोबार रकम २७ महिना यताकै उच्च हो ।

यसअघि २०२१ सेप्टेम्बर ६ मा ९ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये ४ वटाको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ५१ प्रतिशतले घटेको छ । ग्लोबल आइएमई लघुवित्त, नेपाल वेरहाउजिङ कम्पनी र हिमालयन रि इन्सयोरेन्स कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।