images

संघीय संसदको आगामी अधिवेशनमा पनि बिजनेस अभाव हुने पक्का

काठमाडौं– संघीय संसदको आगामी अधिवेशनमा पनि बिजनेसको अभाव हुने देखिएको छ । संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशन यता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएसँगै आगामी हिउँदे अधिवेशनमा विजनेसको कमी हुने देखिएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभामा त हालसम्म कुनैपनि नयाँ विधेयक दर्ता भएको छैन् । नयाँ विधेयकहरु दर्ता नभएका कारण अबको संसदको हिउँदे अधिवेशनमा पनि बिजनेसको अभाव हुने देखिन्छ । यसअघिको वर्षे अधिवेशनमा पनि सरकारले संसदमा बिजनेस नदिएको भन्दै सांसदहरुले नै असन्तुष्टि व्यक्त गरेका थिए । प्रवक्ता गिरीले संसदमा जनताको आवाजहरुलाई उठाउने विषय पनि संसदको विजनेस हुने बताए ।

संसदमा विजनेस अभाव हुन नदिनका लागि कम्तिमा १५ दिनको कार्यतालिका बनाएर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने विषयमा पनि सभामुख देवराज घिमिरे आफैँले छलफल शुरु गरेका छन् ।

सरकारले माघको तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा कार्यतालिका नै बनाएर अघि बढ्ने विषयमा संघीय संसद सचिवालयले मस्यौदा नै बनाएर छलफल अघि बढाएको छ ।