images

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ ।

असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औं सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसक्रममा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रूपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थियो ।