काठमाडौं–हत्या अभियोगमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह सहितका ६ जनालाइइ पक्राउ गर्न अदालतले आदेश दिएको छ । १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ अनुमती दिएको हो ।
जिल्ला अदालतले सुर्खेतले पक्राउ गर्न गत शुक्रबार अनुमती दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ लिएको थियो। ‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पूर्जी माग गरेका थियौं । सोही अनुसार अदालतले अनुमति दिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भने, ‘उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं।’
२०६५ फागुन २६ गते सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।
हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए। जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ।
मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए। हत्याकाे घटना अनुसन्धान गर्न प्रहरीले यस अघि ३१ जना अनुसन्धान अधिकृत तोके पनि हालसम्म कसैलाई पक्राउ गर्न सकिरहेको छैन। हत्या अभियुक्त राजनीतिक लाभ लिँदै खुलमखुला हिँडिरहँदा समेत सरकारले नै उनीहरुको संरक्षण गरेको पीडित परिवारको आरोप रहेको छ ।


                                                                                स्पेस समाचार                                    
                                                        






