images

वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशतले खुम्चियाे

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणको असर सेयरबजारमा देखिएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीको नाफा नकारात्मक देखिएपछि सेयरबजार २५ दशमलव ६३ अंकले घटेर २१ सय ३० दशमलव १८ विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ ।

बजारमा ७ अर्ब ७६ करोड रुपैयाको सेयर किनबेच भएको छ । वित्तीय विवरण जारी गरेका कम्पनीहरुको नाफा खुम्चिएर वितरणयोग्य नाफा ऋणात्मक देखिँदा लगानीकर्ता निराश भएका हुन् ।

आइतबार डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक २ दशमलव ६१ प्रतिशतले घटेको छ भने बैंकिङ उपसूचक २ दशमलव ४२ प्रतिशतले घटेको छ। कारोबारमा आएकामध्ये ६४ कम्पनीको सेयरमूल्य बढ्दा १७७ कम्पनीको घटेको छ।

अँखुखोला जलविद्युत, समाज लघुवित्त, हिमालयन लघुवित्त र मिड सोलुु हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत बढीका दरले बढेको छन । आइतबार २० वटा वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका थिए । २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटाको मात्रै बढेको छ। बैंकहरुको खराब कर्जा बढ्दा त्यसले बैंकहरुको नाफा प्रभावित भएको हो । प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका यी २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन ।