images

१२ भाइ मिडिया नामाकरण गरेकोमा रविले मागे माफी

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले १२ भाई मिडिया भनि सञ्चार माध्यम र पत्रकारको नामाकरण गरेको विषयमा माफी मागेका छन् ।

सोमबार गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले विगतमा आवेगपूर्ण ढंगबाट बोलेको प्रति माफी माग्छु भनेर स्पष्ट रुपमा भनेका छन् ।

उनले आगामी दिनमा पत्रकार र सञ्चार माध्यमसँग नभिड्ने संकेत गरे । उनले भने, “तपाईहरुलाई म विनम्रतापूर्वक भन्छु, हामीले एक अर्काविरुद्ध लड्ने होइन् ।”

आफू विगतमा जस्तो सञ्चार माध्यम र पत्रकारविरुद्ध नबोल्ने जनाउँ दिँदै उनले भने, “सनसनीपूर्ण हेडलाइन पाइने हो कि भनेर आउनु भएको होला । त्यस्ता साथीहरुलाई घाटा लाग्ने भयो ।” उनले आफू कान्तिपुरलाई बदनाम गर्न राजनीतिमा नआएको बताए । आफ्नो स्वभाव अलि कडा भएको भन्दै उनले त्यसलाई सच्याउनु पर्ने लाग्न थालेको पनि स्वीकार गरे ।

लामो समय सञ्चार क्षेत्रमा काम गरेका उनले पत्रकारिताको मर्म र मर्यादा समेत सिकाउन भ्याए । पत्रकारितालाई व्यक्तिगत रुपमा लिन नहुने उनको भनाई छ ।