images

ललिता निवास प्रकरणः विशेष अदालतमा निरन्तर सुनुवाईं

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले निरन्तर सुनुवाइ गरिरहेको छ ।

बहुचर्चित बालुवाटार जग्गा घोटालासम्बन्धी मुद्दामा न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ देखि नियमित सुनुवाइ भएको हो । १ सय ७५ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दामा १ सय १० जना मात्र सम्पर्कमा आएका छन् ।

सरकारी पक्ष र ती सबैको तर्फबाट बहस गर्दा अझै १५ दिनभन्दा बढी समय लाग्न सक्ने विशेष अदालतले जनाएको छ । निरन्तर सुनुवाइ भइरहेकाले यो महिनाको अन्तिम सातातिर फैसला आउन सक्ने आकलन गरिएको छ । धेरैजसो प्रतिवादीका एकभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेस गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यसमा मुख्य अभियुक्तहरूमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ तथा उनका पारिवारका सदस्यहरू रहेका छन् । यस्तै पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ । पूर्वसचिव दिनेशहरि अधिकारीसहित मालपोत विभाग र भूमिसुधार मन्त्रालयका विभिन्न अधिकारीहरू समेत यसमा तानिएका छन् ।

अभियोगपत्रमा रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई मुख्य योजनाकार तथा बिचौलियाका रूपमा प्रस्तुत गरिएको छ । यसै प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत बयान लिइएको भए पनि मन्त्रिपरिषद्का निर्णयमा अधिकारक्षेत्र नरहेको भनी अख्तियारले मुद्दा चलाउन अस्वीकार गरेको थियो ।

यसै प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौमा संगठित अपराध तथा लिखतसम्बन्धी कसुरमा बेग्लै मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरेको छ ।