images

जनकपुर बजार बन्द गर्दै हिँड्ने आजपाका ६६ जना नेता कार्यकर्ता पक्राउ

काठमाडौं– सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६६ जना नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । विहिबार बिहानैदेखि जनकपुर बजार बन्द गर्दै हिँडेका आजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार जनकपुरमा बजार र यातायात बन्द गराउँदै हिडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हाे ।

प्रहरीले आजपाका महासचिव उपेन्द्र साह, प्रवक्ता सीबी साह, स्थायी कमिटी सदस्य श्रीलाल महासेठ, महोत्तरी जिल्ला अध्यक्ष विजयकुमार साह गगायत नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

राष्ट्रिय सभा निर्वाचनलाई लिएर जनकपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

ब्यांकले बढाएको ब्याज घटाउनुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग राखी आजपाले मधेश बन्दको आह्वान गरेको थियो।

बन्दको कारण राष्ट्रिय सभा निर्वाचनमा असर पर्ने भएपछि प्रहरीले आजपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ। मधेशका अन्य जिल्लामा पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन्।