images

प्रहरी समायोजनका विषयमा गृहमन्त्री श्रेष्ठले गरे सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग छलफल

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन् । गृहमन्त्री श्रेष्ठले आईतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र शान्ति सुरक्षाको सम्बन्धमा छलफल गरेका हुन् ।

संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २२ बमोजिम गृहमन्त्रीको अध्यक्षतामा बसेको गृह विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशिघ्र अगाडी बढाउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐनको समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसलाई परिमार्जन गर्ने निर्णय भएको बताए । नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा रहेकाले यसलाई पनि अरु ऐनसँग तालमेल हुनेगरी नयाँ कानुन निर्माण गर्ने निर्णय भएको उनको भनाइ छ ।

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले माघ १७ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय समितिको बैठकले प्रहरी समायोजनको कामलाई अगाडी बढाउने बताए । उक्त समितिको बैठकपछि प्रहरी समायोजन समिति बन्ने र सो समितिले प्रहरी समायोजनको काम आरम्भ गर्ने उनको भनाइ छ ।

उनले प्रदेश सरकारहरुले संविधानले प्रदत्त गरेका अधिकारहरु खोजिरहेको पनि बताए । प्रहरी समायोजनका लागि आफुहरुले पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराएको भन्दै उनले यो विषय छिट्टै टुंग्याउनुपर्नेमा जोड दिए ।