images

पिआर लिएको उजुरीपछि समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा

काठमाडौं–अमेरिकी पिआर (स्थायी बसोबास अनुमति) लिएको उजुरी परेपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्।

पिआर लिएको भन्दै उपाध्यक्ष मोनिका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेको थियो। उजुरी परेपछि उनले राजीनामा दिएकी हुन्।

समाज कल्याण परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्ष मोनिकाले दिएको राजीनामा स्वीकृत गरेका छन्।

नेपालको संविधान २०७२ को धारा २९१ मा पनि नेपाली नागरिकले विदेशी स्थायी आवासीय अनुमति पत्र लिएका खण्डमा नियुक्तिका लागि योग्य नहुने व्यवस्था छ।

‘विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन,’ संविधानमा उल्लेख छ।

०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा कांग्रेस नेता उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन्। रेग्मीले चार वर्षे कार्यकालका लागि बुहारी मोनिकालाई उपाध्यक्षमा सिफारिस गरेपछि ०७८ मंसिर २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।