images

सर्वहाराका नेता शक्ति बस्नेतकाे काठमाडौंमा ७ करोडको घर, दुईवटा गाडी !

जाजरकोटमा भुकम्पपछि चिसोका कारण ३ दर्जन बढी सर्वसाधरणले ज्यान गुमाए । तर तिनै जनताको भोटका कारण पटक पटक सत्ताको स्वाद चाखेका शक्तिबहादुर बस्नेत भने झण्डै ७ करोड पर्ने आलिसान घरमा बस्ने तयारीमा छन् ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव बस्नेतले बुढानिलकण्ठ नगरपालिकाको हेपाली हाइटको आकृती कोलोनिमा घर किनेका हुन । कोलोनिमा भएका २८ वटा घरमध्ये सि-सिक्स नम्बरको घर शक्ति बस्नेतको हो । ७ आनाभन्दा बढीमा बनेको उक्त घर उनले ६ करोड ६२ लाख रुपैयाँमा किनेका हुन । तर घर पास भने गरिसकेका छैनन् । उक्त कोलोनी दिपक कुँवरको हो । अहिले उक्त घरमा इण्टेरियर डिजाइनको काम चलिरहेको छ । जसका लागि मन्त्री बस्नेतका भतिजा मुक्ती बस्नेत खटिएका छन् ।

जागिर र व्यवसाय केही नभएका बस्नेतले यति धेरै सम्पत्ती कसरी जोडे ? ४ पटक मन्त्री बन्दा उनले सरकारबाट मासिक १ लाखका दरले ५० लाख बराबरको पारिश्रमिक र सुविधा पाए होलान् । तर ६ करोडभन्दा बढिको घर किन्ने उनको हैसियत के हो ? उनीसँग एउटा होइन दुई/दुई वटा चिल्ला लक्जरियस गाडी पनि छन । यी गाडि चाहिँ कसरी किने होलान ? यो सवालले सर्वहाराका नेता भन्ने शब्दलाई नै गिज्याइरहेको छ ।

जाजरकोटका जनताले उनलाई तीन /तीन पटकसम्म चुनाव जिताए । चार पटकसम्म मन्त्री भएका बस्नेतले भूकम्प गएका बेला समेत आफ्ना मतदाताको घाउमा मल्हमसम्म लगाउन पहल नगरेको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा उनी प्रमुख राजनीतिक सल्लाहकार थिए । त्यसपछि २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदै २०७२ मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने । बस्नेत २०७४ मा वन तथा वातावरणमन्त्री र अहिले ऊर्जामन्त्री छन् ।
जनयुद्धकालदेखिकै विवादित छवि

१० वर्षे भूमिगत जनयुद्धमा होमिएका मन्त्री बस्नेत त्यसबेला निकै क्रान्तिकारी कुरा गर्थे । मौकामा यस्ता कुरा गर्न अझै पछि पर्दैनन । तर उनको विगतको राजनीतिक छवि पनि सङलो चाहिँ छैन ।

उनीमाथि जनयुद्ध कालमै ३५ किलो सुन र केही हजार डलर गायब बनाएको आरोप लाग्दै आएको छ । घटनाका साक्षीहरुका अनुसार बाँकेको ढकेरीमा बस्नेतले ३५ किलो सुन गायब बनाएका थिए । त्यसबेला उनी माओवादीको भेरी कर्णाली इन्चार्ज थिए । रामलाल विश्वकर्माको नेतृत्वमा बाँकेमा ल्याइएको सुन २०५८ सालमा अछामको मंगलसेनमा गरेको आक्रमणपछि लुटेर ल्याइएको थियो । सुन हराएपछि पार्टीले छानविन समिती गठन गरेर छानविन समेत गरेको थियो । तर त्यतिबेलादेखि नै नेतृत्वलाई आफ्नो पोल्टामा पार्न खप्पिस बस्नेतलाई पुष्पकमल दाहाल प्रचण्डले नै संरक्षण गरी बचाएका थिए ।

२०६१ सालभन्दा अघि नै उनलाई एक महिलासँग अनैतिक कृयाकलापमा संलग्न रहेको भन्दै पार्टीले कारबाही गरेको थियो । त्यसो त उनले आँफु वनमन्त्री हुँदा व्यावसायिक रूपमै कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तुरी प्रजनन केन्द्र स्थापनाको लागि ३ करोड ५० लाख बिनियोजन गराएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषले उक्त कामको जिम्मा लिएको थियो । तर बिडम्बना सामान्य भवन बन्ने बाहेक अरु केही उपलब्धि हुन सकेको छैन । उक्त भवन यतिबेला अलपत्र जस्तै छ । न त त्यहाँ कस्तुरी पालिएका छन न त त्यहाँ बनाइएको संरचनाकै रेखदेख गरिएको छ । यस्ता दर्जनौ आयोजनाका लागि बजेट बिनियोजन गर्ने अनि कमिसन कुम्ल्याउनेमा मन्त्री बस्नेतको नाम अग्र स्थानमै पर्छ ।

पटक पटक सत्तामा पुग्ने र जाजरकोटका जनताको आँखामा छारो हाल्दै अगाडि बढ्ने शक्तिको नीती देखिन्छ । गरीब जनताको आवाज उठाउन सत्तामा पुगेको बताउने मन्त्री बस्नेत गरीब जनताको दुःखलाई बेवास्ता गर्दै आफु कसरी धनी हुने र कसरी उच्च शैलीको जीवनस्तर जिउने भन्नेमा केन्द्रित देखिन्छन । यही कारण हुन सक्छ मन्त्रीका रूपमा उनले जति काम गर्नुपर्ने हो, यी चारै कार्यकालमा देश र जनताको लागि केही गरेको देखिदैन ।