images

यू–१९ विश्वकप सुपर सिक्सको पहिलो खेलमा नेपाल र बंगालादेशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुने छ । त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ । नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो । समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुसार नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो ।

दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारत अण्डर नाईन्टिन विश्वकपकै सर्वाधिक सफल टोली हो । ५ पटकको विश्वकप विजेता भारत ३ पटक उपविजेता भइसकेको छ । यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ । यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी जनाएको हो ।
०००