काठमाडौं– सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयेगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिइन् । त्यस्तै सरकारले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ । सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न सवीकृति दिने निर्णय पनि गरेको छ ।