images

सदनमा प्रभावकारी भूमिका खेल्न माओवादी सांसदलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार विहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा उक्त निर्देशन दिएका हुन् ।

सोमबार अपरान्ह ४ बजे संघीय संसदको बैठक बस्दैछ । संसद बैठकमा अन्य दलका सांसदहरु भन्दा प्रभावकारी रुपमा दरिलो रुपमा भूमिका खेल्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले यो व्यवस्था आफूहरुको त्याग र तपस्याका कारण आएको बताउँदै त्यसको रक्षा गर्ने दायित्व पनि माओवादीकै भएको बताएका थिए ।