images

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गरेका हुन् ।

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले दुःख व्यक्त गरेका छन् । महामन्त्री थापाले झापाबाट यही माघ १३ गते संवाद यात्रा सुरु गरेका थिए । हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थापाले संवाद यात्रालाई स्थगित गरेको उनको सचिवालयले जनाएको छ । उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो।

महामन्त्री थापाले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गरेका थिए । उनले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै अाएका थिए । अभियानका क्रममा भाषण र आसन ग्रहण नगरी जनताको कुरा नै धेरै सुन्ने तरिकाले कार्यक्रम गरेका थिए। स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने उनको सचिवालयले जनाएको छ।