काठमाडौं– अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृती दिएको हो । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।
भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् । चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको थियो ।