images

अवैध सुन पैठारी जाँचबुझ आयोगले पूर्व सभामुख महरासँग लियो बयान

काठमाडौं– सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको हो । आयोग स्रोतका अनुसार महरासँग करिब डेढ घण्टा बयान लिइएको थियो ।

आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो । महराको छोरा राहुललाई भने सीआईबीले पक्राउ गरेको थियो ।

चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरुसँग बताएका थिए । चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सार्वजनिक रुपमा नै स्विकार्दै आएका छन् । २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्गले दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएका थिए ।

आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि सीआईबीले पनि सोधपुछ गरेको थियो । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छानबिनको दायरामा परेका हुन् । समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए । भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको थियो ।