images

सचिव मधु मरासिनी साधरण तारेखमा रिहा

काठमाडौं– नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार आरोप लागेका नेपाल सरकार सचिव मधु मरासिनी साधारण तारेखमा रिहा भएका छन् ।

आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई साधारण तारेखमा छाडिएको हो । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मरासिनीको बयान भएको थियो । बयान सकिएपछि थुनछेक बहस भएको थियो। मरासिनीका तर्फबाट कानुन व्यवसायीहरू रमनकुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, ललित बस्नेतलगायतले बहस गरेका गरेका थिए।

मरासिनीले अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा नियमित प्रक्रिया छलेर २५ करोड रुपैयाँ विनियोजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ करोड रुपैयाँ बिगो दाबी गरेको थियो। पछिल्लो पटक उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए। कानुन व्यवसायीहरूले मरासिनीमाथिको अभियोग नै आधारहीन भन्दै प्रारम्भिक सुनुवाइमै खारेज हुनुपर्ने जिकिर गरेका थिए। अख्तियारले सचिव मरासिनीसहित ९ जनाविरुद्ध असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ । सिंहदरबारमा रहेको आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् ।