images

१६ वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं– फागुन महिनाका लागि २० मध्ये १६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । योसँगै व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुको औषत ब्याजदर ७ दशमलव ७५ प्रतिशतबिन्दु कायम भएको छ ।
सञ्चालनामा रहेका २० वटा वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ । माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ० दशमलव ४० प्रतिशत बिन्दुले घटेको छ ।

माघमा औषतमा बैंकको ब्याजदर ८ दशमलव १६ प्रतिशत रहेकोमा अब फागुनमा ७ दशमलव ७५ प्रतिशतमा झरेको छ । फागुनमा ब्याजदर स्थिर राख्ने बैंकमा एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंक रहेका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८ दशमलव १५ प्रतिशत रहनेछ । फागुन महिनामा सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि बैंक रहेको छ ।

एनएमबिले व्यक्तिगत मुद्धती निक्षमा ८ शमलव ५० प्रतिशत ब्याज दिनेछ । ८ प्रतिशत भन्दा बढी ब्याज हुने बैंकमा कुमारी, नेपाल एसबिआई, हिमालयन, एनएमबि र सिटिजन्स बैंक रहेका छन् । ७ प्रतिशत भन्दा कम ब्याज दिनेमा ८ वटा बैंक रहेका छन् । जसमा नेपाल बैंकले ७ दशमव २५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७ दशमलव ३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७ दशमलव ३५ प्रतिशत, प्राइम बैंकको ७ दशमलव ४० प्रतिशत, प्रभु बैंक ७ दशमव ५० प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७ दशमलव ६० र नबिल बैंकको ७ दशमलव ७५ प्रतिशत ब्याज दिने छ । कृषि विकास बैंकको ब्याजदर ६ दशमलव ४४ प्रतिशत मात्रै रहेको छ । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदरमा केही बैंकले भने अधिकतम पाँच वर्षसम्मको ब्याजदर तय गरेका छन् । बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६ दशमलव ५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कुल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्नेछ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ ।