काठमाडौं– एसिसी वुमन्स प्रिमियर कप २०२४मा नेपालकी ब्याटर रुबिना क्षेत्रीले कीर्तिमानी शतक प्रहार गरेकी छिन्।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको हो ।
नेपाली महिला टिमबाट पहिलो पटक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा रुबिनाले माल्दिभ्सविरुद्ध नटआउट ११८ रन बनाइन्। उनले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन्।
यो स्कोर नेपाली महिला टिमको टी–२० मा अहिलेसम्मकै उच्च स्कोर हो।
यस्तै, पूजा महतोले ३६ बलमा ५९ रनको पारी खेलिन्। यस बाहेक कविता कुँवरले १३, सीता राना मगरले १५, डली भट्टले ६ रन बनाए। कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्।
हाल खेलमा दोस्रो इनिङ चलिरहेको छ। माल्दिभ्सको महिला टोलीले पाँचौं ओभरको खेल चल्दा दुई विकेटको क्षतिमा तीन रन मात्र बनाउन सकेको छ। माल्दिभ्सको दुवै विकेट पूजा महतोले लिएकी हुन्।
मलेशियाको भइरहेको प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। यसअघि नै नेपालले लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भूटानलाई समान आठ विकेटले पराजित गरेको थियो। माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। माल्दिभ्स पहिलो खेलमा भूटान र दोस्रोमा हङकङसँग पराजित भएको थियो।