images

प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन पार्टीभित्रैबाट दबाब

काठमाडौं– माओवादी नेता महेश्वर दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको विधान अधिवेशमा बोल्दै नेता दाहालले पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्नेमा जोड दिए ।

पार्टी विधान अधिवेशनमा बोल्दै उनले भने, ‘अहिले उत्पीडित वर्गको राज्यसत्ता कब्जा नगरेको अवस्थामा त झन प्रमुख नेतृत्वसहित पदाधिकारी, स्थायी समितिका नेताहरु नै सरकारमा पटक पटक जाने, लामो समय रहँदा कम्युनिस्ट पार्टी र आन्दोलनलाई धेरै नै ठूलो क्षति पुर्याएको छ । नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशा दिनका लागि पार्टी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला छ यतिबेला । फराकिलो कम्युनिस्ट अन्तर्राष्टिय बनाउनु पर्छ । नयाँ, विकसित रिम बनाउनु पर्छ । यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काईसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनु पर्छ । एकपटक मन्त्री भइसकेकाहरुलाई हटाएर सबै नयाँ कमरेडहरुलाई मन्त्रीमण्डल लैजाऔं । अनुभवी कमरेडहरुलाई बरु नयाँ मन्त्रीहरुलाई गाइड गर्नका लागि पार्टीमा एउटा संयन्त्र बनाऔं ।’

उनले विधानको प्रस्तावनामा स्पष्ट भाषामा समाजवादी दर्शन र मूल्य मान्यतालाई उल्लेख गर्नुपर्नेमा जोड दिए । नेता दाहालले केन्द्रीय सदस्यहरुको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जानु पर्ने प्रस्ताव अघि सारे । उनले भने, ‘यदि तत्काल यो सकिदैंन भने श्रीमती, परिवारका अन्य सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौं । पार्टीलाई समाजवादीकरण दिशामा लैजान पहल गरौं । नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टीले केन्द्रीय सदस्यहरुको एक हिस्सा सम्पति पार्टीकरण गरेको हो । केन्द्रीय नेताहरुको यो पहलले पार्टी कार्यकर्ता र जनतामा त्याग, वलिदानको भावना विकास भएको हो । समाजवादी यात्रामा जानका लागि फेरि कमसेकम केन्द्रीय सदस्यहरुमा त्यो त्याग भावनाको विश्वास पैदा गर्न अत्यावश्यक छ । क्रान्तिकारी विचारसँगै क्रान्तिकारी आचरणलाई पनि जोड दिऔं ।’

नेता दाहालले जनयुद्धकालमा पारित गरिएको ठोस विषय, मूर्तिकृत गर्दै कार्यान्वयन जरुरी रहेको बताए । उनले राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रबल बनेर जाने गरेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले प्रतिक्रान्तिको खतरालाई रोक्नका लागि दुई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यतामा अझै विकास गर्न जरुरी रहेको टिप्पणी गरे ।

नेपालमा वामपन्थी पार्टी र आन्दोलन ठूलो संकटमा भएको उल्लेख गर्दै नेता दाहालले समाजवादमा जाने शर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका सबै वामपन्थी शक्ति र व्यक्तिहरुसँग एकताका लागि पहलका लागि अघि बढ्नु पर्ने प्रस्ताव अघि सारे। उनले सरकार, सदन र सडकलाई एकीकृत र व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिंदै सडक र संसारलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

नेता दाहालले पार्टीभित्र प्रत्यक्ष निर्वाचनमा जान जरुरी रहेको बताउँखै अध्यक्षसहित सबै पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र सबै तहको निर्वाचन प्रत्यक्षरुपमा गर्नु पर्नेमा जोड दिए ।उनले पार्टीभित्र भएका सबै अनियमितता रोक्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।