images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चारवटा प्रस्ताव पेश

काठमाडौं–नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा चार वटा प्रस्ताव पेस भएका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको छ ।

साथै पार्टीको राजनीतिक प्रतिवेदन, संगठनसम्बन्धी प्रश्ताव र समग्र नीति सम्बन्धी प्रश्तव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रश्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव र उपसभापति पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा पस्ताव पेस गरेको महतले जानकारी दिए ।

प्रस्तावहरुमाथि शुक्रबारदेखि छलफल हुने छ । छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जित प्रस्ताव लगिने छ ।

महामन्त्री थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरिएको छ ।

२०८२ को असोजमसान्तभित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्तभित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ । उनले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव पनि गरेका छन् । गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनको दाबी छ ।