images

ललिता निवास प्रकरणः विजय गच्छदार सहित तीन पूर्वमन्त्रीले पाए सफाई,कर्मचारी भने दाेषि ठहर

काठमाडौँ-ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणका  विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । त्यसैगरी पूर्वमन्त्री चन्द्रदेव जोशीलाई पनि सफाइ दिइएको हो ।

उक्त मुद्दामा भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।

सोही मुद्दामा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन् ।

दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ ।

त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।