images

मन्त्री ज्वालालाई आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषिलाई कार्बाही गर्ने वचनवद्धता व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने प्रष्ट पारे ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

उक्त प्रतिवेदन पश्चात आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ,रास्वपा र राप्रपाले मन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’

आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’