images

सबै धर्म सम्प्रदायबीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य होः राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य रहेको बताएका छन् । विहिबार अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञको उदघाटन गर्दै राष्ट्रपति पौडेलले सबै धर्म, संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय दिने लक्ष्य राखेको बताए ।

‘अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।’ राष्ट्रपति पौडेलले भने । उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले भने ‘स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यवद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्येश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ ।’

यस क्षेत्रको विकास, संरक्षण र संवद्र्धनको लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायतका काम हुनु खुशीको कुरा हो भन्दै उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रुपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता औल्याए ।

‘तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विकासमा योगदान पु¥याउन सकिने पनि मैले देखेको छु ।’ राष्ट्रपति पौडेले भने।

शिवरात्री, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दशै, श्रावण स्नान, बोलवमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको छ । ‘यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौ पर्यटक भित्रयाउने संभावनाप्रति म सबैको ध्यानाकर्षण गराउँदछु, यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने।

६र६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२र१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ । राष्ट्रपति पौडेलले यो पवित्र स्थल तिर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकोमा सुदुरपश्चिम क्षेत्रका सबै धन्य भएको बताए । उनले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताए।