images

रुसी सेनामा भर्ना भएका १६ नेपालीको मृत्यु भएको तथ्यांङ्क सार्वजनिक,२७२ जना सम्पर्क विहिन

काठमाडौं–रुसी सेनामा भर्ना भएका १६ जना नेपाली युवाहरुले मृत्यु भएको तथ्यांङ्क सार्वजनिक भएको छ ।रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले सार्वजनिक गरेको प्रतिवेदन अनुसार १६ जना नेपालीहरुको ज्यान गएको जनाएको छ ।

उनीहरुको काजक्रिया पनि भइसकेको छ । साथै कुल ५३१ जना नेपाली रुसी सेनामा रहेको तथ्याङ्क छ । शनिबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

यस्तै ११६ जना घाइते र २७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको जनाएकी छन् । उनले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताइन ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीको दाबी रहेको छ।

यसैबीच रुसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले हिजो बेलुका पशुपतिनाथ परिसरमा रहेको भश्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन् । ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन् ।

अभियानले रुसी सेनामा रहेकोहरुको सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै काठमाडौंमा रहेको रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।