images

मिटरव्याज पीडितलाई सरकारले बोलायो वार्तामा,संघर्ष समितिको असन्तुष्टि

काठमाडौं–मिटरव्याज पीडितहरुलाई सरकारले वार्तामा बोलाएको छ । सुदूरपश्चिमको कञ्चनपुरदेखि कोशीको झापासम्मका मिटरब्याज पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन् । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई गृहमन्त्रालयले वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमद्वारा हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ, ‘बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला ।’

‘व्यक्तिगत रुपमा पठाइएको पत्रको जवाफ, व्यक्तिगत रुपमै दिने’ निर्णय गरेको समितिका प्रवक्ता नीर्घ नवीनले जानकारी दिए । उनले संघर्ष समितिलाई पत्र नदिएर व्यक्तिगत रुपमा पत्र काटेको प्रति आक्रोश व्यक्त गरे ।