images

नेपाल क्रिकेट संघ क्यानद्वारा खेलाडीहरुको सम्झौतामा थप, ग्रेड ए का ६ जनालाई मासिक १ लाख तलब

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले खेलाडी सम्झौतामा थप गरेको छ ।

क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो । क्यानले पुरुषतर्फ १८ बाट बढाएर ३० खेलाडीलाई सम्झौतामा समावेश गरेको छ । त्यस्तै महिलातर्फ पनि १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पु¥याएको छ ।

क्यानले ग्रेड डी र इमर्जिङ क्याटागोरीसमेत थप गरेको छ । पुरुषतर्फ ग्रेड ए लाई १ लाख, ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, ग्रेड डीलाई ३५ हजार र ईमर्जिङ क्याटागोरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । त्यस्तै महिलातर्फ ग्रेड ए लाई ५० हजार, ग्रेड बीलाई ३५ हजार, ग्रेड सीलाई ३० हजार, ग्रेड डीलाई २५ हजार र ईमर्जिङ क्याटागोरिलाई २० हजार मासिक तलब पु¥याएको छ ।

पुरुषतर्फ ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् ।

ग्रेड डीमा पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । थपिएको इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् ।

महिलातर्फ ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् । इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।