काठमाडौं– माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वेन्टी आई शृंखलामा नामिबियालाई ५९ रनले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो । नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले ४२ रनको अविजित इनिङ खेले । जेपी कोट्जी २६ तथा कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९ रन बनाए । नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी–ट्वेन्टी आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी–ट्वेन्टी आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो ।
नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी–ट्वेन्टी आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । साइब्रान्ड एंगेलब्रेक्ट ७५ रनमा आउट भए । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । तेजा निणामानिरु १८ रनमा रन आउट भएका थिए ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १÷१ विकेट लिए । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ ।
नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।