images

चर्च ब्वाइज युनाइटेड बन्यो झापा गोल्डकपको च्याम्पियन

काठमाडौं– चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनल खेलमा विभागीय टोली सश्स्त्र प्रहरी बलको एपीएफलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज प्रतियोगिताको नयाँ च्याम्पियन बनेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । चर्च ब्वाइजले उपाधि सहित १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपीएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

चर्चका अफिसियल रुवेन राईले खेलाडीको मेहनतले जित निकालेको बताए । उनले खेलाडीको तारिफ गर्दै योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए । पराजित एपिएफका प्रशिक्षक शुशिल अधिकारीले सामान्य गल्तीको कारण पहिलो गोल ब्यहोरेको उल्लेख गर्दै त्यसपछि सन्तुलन बिग्रेको बताए । उनले भने, ‘पहिलो गोल बेहोरेपछि खेलाडी आत्तिएको जस्तो देखिए । त्यसपछि पनि राम्रो गर्नै सकेनौं ।’

खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२ औं मिनेटमा फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।

तेस्रो गोल ८७ औं मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले फाइनलमा भने आशा अनुसारको प्रदर्शन गर्न सकेनन् । गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।