images

अर्थतन्त्रमा सङ्कट छैन: अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन् ।
आइतबार नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा  काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरे । उनले अर्थतन्त्रलाई लिएर निराशा फैलाउने काम नगर्न आग्रह पनि गरे । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको दाबी गर्दै उनले आत्तिनु नपर्ने बताए ।
 एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैङ्कहरूमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको सङ्केत दिने उनको भनाइ थियो ।
‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिति हुँदा श्रीलङ्का हुन्छ भनिएको थियो । सरकार सञ्चालन गरिरहेको राजनीतिक नेतृत्वले त्यति बेला हामी श्रीलङ्काको बाटोमा छैनौँ भनेर आश्वस्त पारेको थियो’, पुनले भने, ‘बैङ्किङ तरलता बढेर बैङ्कहरू लगानीको क्षेत्र खोजिरहेका छन् ।’
यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे । विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले सङ्कटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे ।
पूर्ववर्ती अर्थमन्त्रीहरुबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरूले अघि सारेका राम्रा र सकारात्मक नीतिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
फरक प्रसङ्गमा उनले पछिल्लो समय धितो पत्र बजारमा सकारात्मक सङ्केत देखिएको बताए । मन्त्री पुनले ६० लाख जनसङ्ख्या संलग्न धितो पत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जनाए । विगतमा अर्थतन्त्र सङ्कटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबिच छलफल चलिरहेको जानकारी मन्त्री पुनले दिए ।