
काठमाडौं–काठमाडौंको गोकर्णेश्वरमा विवाह गर्न नमानेपछि एक युवतीको हत्या भएको खुलासा भएको छ ।
माघ २२ गते बिहान कलेज हिँडेकी १९ वर्षीया सुस्मा लामाको हत्या भएको थियो । घटनाको झन्डै एक महिनापछि गोकर्णश्वर–३ तारे भिर नजिकै शिवपुरी जङ्गलमा फागुन २४ गते उनको शव भेटिएको थियो । शव भेटिएको झन्डै १० दिनपछि प्रहरीले सुस्माको हत्या गरेको आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रुपेन्द्रले पटक–पटक राखेको विवाह गर्ने प्रस्ताव सुस्माले अस्वीकार गर्दै आएकी थिइन् । माघ २२ गते बिहान घरबाट निस्किएकी सुस्मालाई पछ्याएका रुपेन्द्र अन्तिम पटक प्रस्ताव राख्ने र नमाने हत्या गर्ने योजनामा पुगेका थिए । सुस्माले आफू विदेश जाने योजनामा भएको र विवाहको कुनै मनस्थिति नभएको बताएपछि रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोस बनाएको र त्यसपछि मरेको आशङ्कामा खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशङ्का छ ।

घटनापछि रुपेन्द्रले मृतक युवतीको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका थिए । सुस्माले विवाह गरेर भागेजस्तो देखाउन उनले एउटा नव विवाहित दम्पतीको तस्बिर इडिट गरेर त्यसमा सुस्माको फोटो राखेको र युवकको फोटो छोपेको अवस्थामा फेसबुकमा पोस्ट गरेको प्रहरीले दाबी गरेको छ । सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने लेखिएको थियो ।

तर भोलिपल्ट उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि माघ २६ गते रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरी किन प्रहरीमा गएको आफूले विवाह गरेको जान्दाजान्दै भन्दै धम्की दिएका थिए । आरोपीको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापीसमेत बरामद भएको छ ।