
काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिएर फर्किने क्रममा कांग्रेस सांसद एवम् उद्योगी विनोद चौधरीले आफूमाथि ‘राजनीतिक स्टन्ट’ गरिएको आरोप लगाएका छन् ।
बिहीबार बिहान सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका हुन् । स्टन्ट गर्नेहरूलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने समेत बताए ।
गृहमन्त्री रवि लामिछानेले दोस्रो पटक गृहमन्त्रीको शपथ ग्रहण पश्चात् देशभरको अतिक्रमित सरकारी जग्गा सरकारको मातहतमा ल्याउने निर्णय गरेका थिए । सोही अनुरूप चौधरीमाथि अनुसन्धान अघि बढाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गामा सांसद चौधरीको संलग्नताबारे केही दिनयता विस्तृत छलफल भएको र त्यसकै निष्कर्षअनुसार अगाडि बढिएको सीआईबीले जनाएको छ। कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सिजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो ।
अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजित नारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको छ ।