images

हाजिरी जमानतमा छुटे महरा

काठमाडौं– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको बताए ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

महरा दीर्घ रोगी भएकाले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । भेप मार्फत ९ किलो सुन भित्राएको आरोपमा महराका पुत्र राहुल महरा भने अझै पूर्पक्षका लागि थुनामै रहेका छन् ।