images

रमेश खरेललाई रास्वपाको लिखित स्पष्टीकरण “पार्टी छोडेको हो कि होइन ?” 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय अनुशासन आयोगले पार्टी सदस्य रमेश खरेललाई स्पष्टीकरण सोधेको छ । आयोगले पार्टीको जानकारीविना पार्टीसँग सम्बन्धित विषयमा विभिन्न सञ्चार माध्यमहरूमा अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
“राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरिसकेको भनेर दिएको अभिव्यक्ति प्रति यस आयोगको ध्यानाकर्षण भएको छ”, आयोग प्रमुख डा. भरतमणि देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “पार्टी परित्याग गरेको हो, होइन ? सत्य तथ्य ब्यहोरासहित तीन दिनभित्र लिखित रूपमा स्पष्ट पारिदिनुहुन अनुरोध छ”
रास्वपा, अनुशासन आयोगले पार्टी छोडेको अभिव्यक्तिको ब्यहोरा उल्लेख गरेको भए पनि यसको भित्री पाटो भने फरक छ । एन्टि करप्सन नेटवर्क (एसिएन) र स्पेस फोर के टेलिभिजनको सहकार्यमा सञ्चालित टेलिभिजन कार्यक्रम जनता जनार्दनमा प्रस्तोता खरेलले रास्वपा सभापति रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएका थिए । कार्यक्रम प्रस्तुति गर्ने क्रममा उनले आफैँमाथि उजुरी परेको अवस्थामा गृहमन्त्री बन्नु उचित नभएको भन्दै कडा व्यङ्ग्य गरेका थिए ।
खरेलले कार्यक्रममा यसो भनेका थिए: “प्रश्न त तपाईँमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईँले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईँबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसीन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईँ अनुसन्धानको पवित्र अग्निमा आफैँ होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईँले गर्नुभएका यस्ता कर्मलाई स्याबास भनौँला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।”
खरेल २०७९ को आम चुनावपछिको उपनिर्वाचनमा बारा २ बाट रास्वपाको उम्मेदवारका रूपमा चुनाव लडेका थिए । त्यस यता उनी रास्वपाको साधारण सदस्यका रूपमा रहँदै आएका थिए । पछिल्लो समय बर्दिबास बैठकबाट रास्वपा नेतृत्वले केन्द्रीय सदस्य बनाउन चाहेको भए पनि खरेलले अस्वीकार गरेका थिए । पछिल्लो समय रास्वपामा नरहेको भन्ने आशयका अभिव्यक्ति पनि उनले दिने गरेका थिए ।
यद्यपि जनता जनार्दन कार्यक्रममा रवि लामिछाने र रास्वपा नेतृत्वबारे दिएको अभिव्यक्ति पछि भने पार्टी पङ्क्ति उनीप्रति असन्तुष्ट बनेको थियो । एक सञ्चार माध्यममा पार्टीका महासचिव मुकुल ढकालले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै अनुशासन आयोगले छानबिन गरी कारबाहीको सिफारिस गरे पार्टीले कारबाही गर्न सक्ने बताएका थिए । यसको एक साता नबित्दै रास्वपाको अनुशासन आयोगले रमेश खरेललाई स्पष्टीकरण सोधेको हो ।