images

निरन्तर ओरालो लागेको सेयर बजार मङ्गलवार १०.१४ अङ्कले वृद्धि

काठमाडौं– मङ्गलवार नेपाल स्टक एक्सचेन्ज नेप्से १० दशमलव १४ अङ्कको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ० दशमलव ४९ प्रतिशतले बढेर बन्द भएको हो ।

यससँगै, आज नेप्से परिसूचक २०४१ अङ्कमा पुगेको छ । यस क्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले घटेको छ ।

परिसूचक २०४८ अङ्कसम्म पुगेर पुनः फर्किँदै २०४१ अङ्कमा आएर रोकिएको हो । यस क्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।