
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई रमेश खरेलले पार्टी छोडिसकेको जवाफ पेस गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले रास्वपा नेता रहेका खरेललाई लिखित जवाफ माग्दै पार्टी छोडेको हो, होइन भन्नेबारे जवाफ माग गरेको थियो ।
“राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरिसकेको भनेर दिएको अभिव्यक्ति प्रति यस आयोगको ध्यानाकर्षण भएको छ”, आयोग प्रमुख डा.भरतमणि देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो, “पार्टी परित्याग गरेको हो, होइन ? सत्य तथ्य ब्यहोरासहित तीन दिनभित्र लिखित रूपमा स्पष्ट पारिदिनुहुन अनुरोध छ । ” उक्त पत्रको जवाफ दिँदै रमेश खरेलले आफूले रास्वपा परित्याग गरिसकेको जानकारी गराएका हुन् ।
पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’
खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।
‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन,’ उनले भनेका छन् ।
खरेल २०७९ को आम चुनावपछिको उपनिर्वाचनमा बारा २ बाट रास्वपाको उम्मेदवारका रूपमा चुनाव लडेका थिए । त्यस यता उनी रास्वपाको साधारण सदस्यका रूपमा रहँदै आएका थिए । पछिल्लो समय बर्दिबास बैठकबाट रास्वपा नेतृत्वले केन्द्रीय सदस्य बनाउन चाहेको भए पनि खरेलले अस्वीकार गरेका थिए । पछिल्लो समय रास्वपामा नरहेको भन्ने आशयका अभिव्यक्ति पनि उनले दिने गरेका थिए ।
हेर्नुहाेस् यस्ताे छ राजीनामा पत्र
