images

लगानी भित्राउन अध्यादेश मार्फत भए पनि ऐन संशोधन गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलनलाई लक्षित गरी लगानी भित्र्याउन प्रतिकूल देखिएका ऐनहरू अध्यादेश ल्याएर भए पनि संशोधन गर्ने उद्घोष गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने, देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका लागि तयारी गरिएको छ ।

प्रधानमन्त्री दाहालले आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जनाए । प्रधानमन्त्री दाहालले वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।