images

कांग्रेस र राप्रपाको विरोधपछि संसद् बैठक स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि संसद्को नियमित काम कारबाही प्रभावित बनेको छ । प्रमुख प्रतिपक्षी दलहरूले विशेष बैठक चल्न दिए पनि शून्य समय भने चल्न दिएनन् ।

प्रतिनिधि सभाको बुधवारको बैठक सुरु हुने बितिक्कै कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन्। उनीहरूले गृहमन्त्री रवि लामिछानेसँगै देशभरका सहकारीका विषयमा छानबिन गर्नुपर्नेमा जोड दिएका छन्।

देशभरका लाखौँ बचतकर्ताको अर्बौँ रकम हिनामिना गरिएको उल्लेख गर्दै छानबिनमा जोड दिएका छन्। बचतकर्ताको रकम फिर्ता हुने प्रत्याभूति गर्नुपर्ने उनीहरूको भनाइ छ।

संसद् बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना छानबिन रोकेको आरोप लगाए। गत माघमा सहकारी पीडितले उजुरी दिएपछि पोखराको सूर्य दर्शन सहकारीबारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन सुरु गरेको उल्लेख गरे। काठमाडौँबाट सीआईबीको टोली पोखरा गएको समेत सुनाए।

तर गृहमन्त्रीमा लामिछाने आएपछि छानबिन रोकिएको उनको भनाइ थियो। “गृहमन्त्रीलाई जोगाउन छानबिन रोकियो र सहकारी पीडितहरू झन् पीडित भए,” खतिवडाले भने।

सरकारले नै लामिछानेलाई जोगाउन खोजेपछि संसदीय छानबिन आवश्यक भएको खतिवडाको भनाइ थियो। “काठमाडौँदेखि बुटवलसम्मका सहकारीको एक अर्ब रुपैयाँ गोरखा मिडिया प्रालिमा लगानी गरियो, अपचलन भयो, जसको प्रबन्ध निर्देशक रवि लामिछाने हुनुहुन्थ्यो,” खतिवडाले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद ज्ञानेन्द्र शाहीले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरिएकोमा विरोध जनाए। गृहमन्त्री लामिछानेको निर्देशनमा राप्रपाको शान्तिपूर्ण प्रदर्शनमा कुटपिट गरिएको उनको भनाइ थियो।

सहकारीबारे छानबिन हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने बताए। सरकारले छानबिन नगरेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने शाहीको भनाइ थियो। “सहकारीमा लाखौँ मान्छे पीडित छन्,” उनले भने, “पहिले पनि छानबिन समिति बनाएका हौँ, अहिले पनि बनाऔँ।” विशेष समयमा दलहरूका प्रतिनिधिहरूले बोले पनि सभामुखले शून्य समय सुरु गर्न खोज्दा कांग्रेस र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । उनीहरूको विरोधपछि बैठक आगामी वैशाख २ गते सम्मका लागि स्थगित गरिएको हो ।