images

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बैठकमा उपस्थित ५५ जना सदस्यहरूमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो ।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।

घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् । २०२९ साल साउन १२ गते कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमा एमालेको सङ्गठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । अखिल नेपाल महिला सङ्घमा आबद्ध भएर राजनीतिक जीवनको सुरुवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमै छन् ।