images

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैङ्क एडिबीले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

एडिबीले बिहीबार एसियन डेभलपमेन्ट आउट लुक २०८० सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडिबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशतले वृद्धिदर प्रक्षेपण गरेको थियो । केही दिनअघि विश्व बैङ्कले नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

चालु वर्ष धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडिबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने एडिबीको आकलन छ । एडिबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठुलो योगदान गर्छ । एडिबीले भारतको आर्थिक वृद्धिदर भने ७ प्रतिशत हुने अनुमान गरेको छ ।