images

भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइयो

काठमाडौं– भागबन्डा मिलाउन गण्डकी प्रदेशका दुई मन्त्रालय फुटाइएको छ ।

मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले मन्त्रालय बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । अघिल्लो वर्षको पुसमा अधिकारी नेतृत्वकै सरकारले प्रदेशमा रहेको १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले टुक्राएर स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको हो । सरकारलाई बहुमत पुग्न कठिन देखिएपछि मुख्यमन्त्री अधिकारीले भागबन्डा पुर्‍याउने दुई मन्त्रालय बढाउने निर्णय लिएका हुन् ।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याउने सरकार बनाएको विषयमा गण्डकी कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधवार मात्रै खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त पनि गरेको छ ।