images

मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भन्दै आएको हुँः नेता कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

‘मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ, कोइरालाले भने,राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।’

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए ।

नेताहरूले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र सङ्कटमा परेको दुखेसो कोइरालाले पोखे ।

घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।