images

मधेस प्रदेशमा चैती छठ पर्व सुरु

वीरगन्ज– मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्व विधिवत् रूपमा आज ९शुक्रवार०देखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी ९चौथी० देखि सप्तमी चार दिनसम्म विभिन्न विधिका साथ मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाए’ ९पवित्र स्नान गरेर शुद्ध खाने० विधिबाट पर्वको प्रारम्भ गर्दै छन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेसमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि कात्तिकको छठ जति चैती छठ पर्व मनाउने भने देखिँदैनन्।

छठ पर्वको पहिलो दिन ‘नहाय–खाए’, दोस्रो दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा गएर पानीमा उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझिया घाटको अरघ’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोर घाटको अरघ ’ र ‘पारन’ पनि भनिन्छ।

छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बोडी, सुथनी, मुला लगायतका फलफूल र हरियो तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्य पत्नी षष्ठीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।