images

इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल प्रहार, अन्तर्राष्ट्रिय समुदायद्वारा आक्रमणको निन्दा

काठमाडौं– इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमाथि आक्रमण गरेको छ ।  इजरायली सेनाका अनुसार तेहराइनले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ । जसमध्ये धेरैजसो निस्तेज पारको इजरायलको दाबी छ । केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायलले जनाएको छ ।

इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती आक्रमणलाई इजरायली अपराधको जबाफ भएको बताएको छ । अप्रिलको सुरुमा इजरायलले सिरिया स्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणको जवाफमा इरानले इजरायलमाथि आक्रमण गरेको हो । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् । उता इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरायली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू पनि संलग्न भएका थिए । आक्रमण अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले पनि आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको प्रतिक्रिया दिएका छन् । इरानले इजरायलमा हवाई आक्रमण गरेपछि इजिप्टले आफ्नो हवाई सुरक्षा प्रणालीलाई उच्चतम सतर्क अवस्थामा राखेको बताएको छ ।

चीनको विदेश मन्त्रालयले पछिल्लो तनावपूर्ण अवस्था गाजामा जारी युद्धको पछिल्लो परिणाम भन्दै शान्तिका लागि आह्वान गरेको छ । ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई गैर जिम्मेवार भन्दै निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

यसैबिच इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।