images

सुदूरपश्चिममा नाउपाका सांसद लक्ष्मण किशोरद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।