images

करोडौँ मूल्यको बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

काठमाडौं–काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित करोडौँ मूल्यको बोधिचित्तको रुख काटेको आरोपमा प्रहरीले चार युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई पक्राउ परेका हुन् । उनीहरूले गत चैत २९ गते राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बोधि चित्तको एउटा रुख काटेको प्रहरीको भनाइ छ।

फूल फुल्दै गरेको बोधि चित्तको रुख काटिएको थियो। रुखमा फल्ने बोधि चित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए।

उनका अनुसार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डर त्रास देखाउँदै बोधि चित्तको रुख काटेको थियो।

मैनाली र दुर्गालाललाई काभ्रेपलान्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिवार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुई जनाको म्याद थप्ने तयारी भइरहेको छ।

प्रहरीका अनुसार रुख धनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम समेत फेला परेको थियो । बमलाई धुलिखेलस्थित नेपाली सेनाको काली जङ्ग गणले निष्क्रिय पारेको थियो।