images

राजनीतिक दलहरूले संवैधानिक व्यवस्थाकै बेवास्ता गरेः प्रमुख आयुक्त थपलिया

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूबाट महिलाहरूको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको भए पनि कार्यान्वयन पक्ष भने फितलो रहेको बताए । महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिँदो किसिमले हिंसाका घटना भइरहेको उनको भनाइ छ । उनले कानुनी संरचनामा निर्मम ढङ्गले विश्लेषण गर्नुपर्ने स्थिति आएको पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगले स्पष्ट धारणा राखे पनि आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको आरोप लगाए । संविधान र कानुनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भएको भन्दै उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलित, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व पुरुष बाहेकको हुनु हुँदैन भन्ने किसिमले राजनीतिक दलहरू अघि बढिरहेको टिप्पणी गरे ।

संसद्मा प्रतिनिधित्व गर्न नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, सम्प्रदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वर्तमान समानुपातिक प्रणालीको व्यवस्थालाई संविधानको धारा ४२ सँग मिल्ने गरी व्याख्या गर्नुपर्ने उनको भनाइ छ ।