images

इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं– निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा मतदाता नामावली दर्ता सुरु गरेको छ ।

२०८० फागुन १३ गतेको बैठकको निर्णय अनुसार आयोगले आजदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गरेको हो । आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि–रजिस्ट्रेसन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साबिकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जनाएको छ ।