images

अवैध क्रसर उद्योगले पिखुवा खोलाकाे पक्की पुल जोखिममा

भोजपुर– भोजपुर नगरपालिका १२ टक्सारमा अवैध क्रसर उद्योग सञ्चालनले पिखुला खोला पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरीत सञ्चालन भएको कसर उद्योगले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिकालाई जोड्ने पक्की पुल जोखिममा परेको हो ।

अवैध उत्खनने राजस्वको छलीसँगै पुल जोखिममा परेको जनगुनासो बढेपछि जिल्ला अनुगमन समितिले पिखुवा खोला किनारमा सञ्चालनमा रहेको कसर उद्योगको अनुगमन गरेको छ । स्थलगत अनुगमन मापदण्ड विपरीत कसर उद्योग सञ्चालनमा रहेको पाइएको जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताए ।

पिखुवा खोला पुल निर्माण प्रयोजनका लागि निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठले वि।स। २०७६ सालमा यहाँ कसर उद्योग सञ्चालनमा ल्याएका थिए। पुल निर्माण सम्पन्न भएपछि पनि कसर उद्योग निरन्तर सञ्चालनमा भइरहेको छ ।

पक्की पुलबाट कम्तीमा पाँच सय मिटर दुरीमा कसर उद्योग सञ्चालन गर्नु पर्ने कानुनी प्रावधान रहेको भए पनि पुलबाट करिब ५० मिटर आसपासबाट उत्खनन गरेको पाइएको अनुगमन समितिले जनाएको छ । अवैध उत्खनने पक्की पुलसँगै, नजिकै रहेको पिखुवा हाइड्रो पावर र बेली व्रिज जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

विगतमा आयोजना सञ्चालनको लागि कसर उद्योग स्थापना गरिएको भए पनि मिलेमतोमा हालसम्म पनि अवैध रूपमा कसर उद्योग सञ्चालनले करोडौँ राजस्व छली भएको अनुगमन समितिको भनाइ छ । आयोजना सम्पन्न भए पनि तत्काल कसर उद्योग बन्दा गर्नु पर्ने कानुनी व्यवस्था भए पनि त्यो नगरिएको देखिएको अनुगमन समितिको भनाइ छ । कसर उद्योगले कुनै पनि मापदण्ड पुरा नगरी सञ्चालन रहेको पाइएको जनाइएको छ ।

अवैध उत्खननको कारण खोलाले धार परिवर्तन गर्ने अवस्था रहेको स्थलगत अनुगमनकर्ताले बताएका छन् । अनुगमनका क्रममा पिखुवा खोलामा रहेको श्याम कुमार श्रेष्ठको कसर उद्योगमा करिब एक हजार तीन सय घन मिटर गिटी, एक हजार छ सय घन मिटर बालुवा र एक सय ५० घन मिटर ढुङ्गा सञ्चित रहेको पाइएकोले त्यसलाई जफत गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाले ढुङ्गा,गिटी, बालुवा उत्खनन,विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ विपरीत कसर उद्योग सञ्चालन गर्न दिएको समितिले जनाएको छ । यता भोजपुर नगरपालिकाले भने यहाँ निर्माण प्रायोजनका लागि कसर उद्योग स्थापना भएकाले हटाउन नसकिने बताएको छ । कानुन अनुसार कसर उद्योग सञ्चालनमा रहेको नगर प्रमुख कैलाश कुमार आलेको दाबी छ । केही प्रशासकहरू सुशासन तथा अनुगमनको बहानामा यहाँको विकासको गतिविधि रोक्न लागि परेको प्रमुख आलेको आरोप छ ।

अनुगमन समितिले रामप्रसराई गाउँपालिका ४ दमाई टारमा रहेको शिद्धकाली स्यान्ड वासिङ उद्योगको पनि स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा यो उद्योग पनि मापदण्ड विपरीत सञ्चालन रहेको पाइएको छ । यहाँ पनि कसर उद्योग राख्ने अनुमति बिना नै सञ्चालन रहेको अनुगमन समितिका सदस्य कपिलदेव अधिकारीले बताए । यो उद्योगलाई पनि आवश्यक कारबाहीको लागि राम प्रसाद राई गाउँपालिकालाई लिखित निर्देशन दिइएको समितिले जनाएको छ । राम प्रसाद राई गाउँपालिकाले आई ई रिपोर्ट तयार गरेर ३० लाख लागतमा बोलपत्र अनुसार सङ्कलनको सम्झौता गरेको उपाध्यक्ष वीरेन्द्र राईले बताए । आफ्नो क्षेत्रमा कानुन विपरीत रहेका कसर उद्योगलाई कानुनी दायरा ल्याउन पहल गर्ने उनको भनाइ छ ।

पिखुवा खोला किनारमा व्यक्तिगत रूपमा आफ्नो जग्गा भन्दै ठुलो परिमाणमा राखिएको बालुवालाई कानुन दायरामा ल्याएर मात्र विक्री गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको छ । जिल्लाका अन्य स्थानमा रहेका कसर उद्योगको पनि क्रमशः अनुगमन गरिने समितिले जनाएको छ ।